नियम ६६
भन्सार कार्यालय खोल्ने र बन्द गर्ने
(१) भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र वन्द गर्ने समय तोकी सर्वसाधारणका जानकारीका लागि भन्सार कार्यालयको सूचना पाटीमा सूचना टासी दिनु पर्नेछ ।
(२) सेवाग्राहीको सुविधा वा कार्यालयको कार्यबोझका आधारमा कार्यालयको नियमित समयभन्दा अघि वा पछि वा सार्वजनिक विदाका दिनमा वा कार्यालय बन्द रहेको समयमा समेत कामकाज गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।
(३) सेवाग्राहीलाई सुविधा प्रदान गर्न वा निकासी वा पैठारी सम्बन्धी कार्यमा सरलता ल्याउन स्थानीय रूपमा आवश्यक देखिएमा भन्सार कार्यालयको प्रमुखले महानिर्देशकको पूर्व स्वीकृति लिई सार्वजनिक विदा नभएको दिनमा कार्यालय बन्द गर्ने वा सार्वजनिक विदाका दिनमा कार्यालय खोल्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम कार्यालय बन्द वा खोल्ने व्यवस्था गरिएकोमा भन्सार कार्यालयको प्रमुखले सोको सूचना राष्ट्रियस्तरको दैनिक पत्र पत्रिकामा प्रकाशन गरी भन्सार कार्यालयमा समेत टाँस गर्नु पर्नेछ ।
(५) रेल सेवा उपलव्ध सुख्खा बन्दरगाहमा रहेका भन्सार कार्यालयमा टर्मिनल व्यवस्थापन कम्पनीबाट अनुरोध भै आएमा रेल रोकी रहने अवस्थाबाट लाग्ने विलम्व शुल्क (डेमरेज) बाट व्यापारमा अतिरिक्त भार नपार्ने गरी कार्यालय समय अगाडी पछाडी समेत काम गर्ने र रेल छुटाउने प्रवन्ध मिलाउनु पर्नेछ ।